Popular Posts

Tuesday, March 12, 2019

पूर्वीय दर्शन, तत्वज्ञान र यसले निर्दिष्ट गरेका लक्ष्य (Eastern Mataphysics)


‘दर्शन’ शब्दको सामान्य अर्थमा हुन्छ ‘देख्नु’ । तर यसको परिभाषिक अर्थ तत्व विज्ञान (science of truth) हो, जसमा आध्यत्मिक तथा भौतिक वस्तुको चिन्तन वा विश्लेषण गरिन्छ । वास्तवमा सामान्य अर्थबाट नै परिभाषिक अर्थको उत्पत्ति भएको हुन्छ । मानिसहरूले देख्ने शक्ति लिएर जीवन प्राप्त गरेका छन् । हाम्रो सामु एक विशाल दृश्य जगत (संसार) विद्यमान छ । स्वभावतः हामी यहाँ हरेक पल विभिन्न बिचित्र पदार्थहरूको दर्शन अर्थात् अवलोकन गरिरहन्छौं । यो देख्ने कार्य जतिजति विस्तृत हुँदै जान्छ र साथसाथै हाम्रो वुद्धिको पनि जति-जति विकास हुँदै जान्छ हामी त्यति-त्यति अनुभव गर्दछौं, हाम्रो स्वभाविक दृष्टि गोचरता नितान्त असम्पूर्ण (Incomplete) छ । यस्तो सामान्य देखिने कार्यबाट द्रष्टव्य वास्तविक जगतसँग हाम्रो यथार्थ परिचय हुँदैन र हुन पनि सक्दैन । त्यसले यस सामान्य तवरबाट देख्नुलाई वास्तवमा देख्नु नै भन्न सकिन्न । आफ्ना वरपरका वस्तु तथा कार्यहरूलाई हेर्दाहेर्दै हाम्रा मनमा विभिन्न प्रकारका प्रश्नहरू उठिरहन्छन् । यस्ता प्रश्नहरूको समाधान केवल इन्द्रियहरूसँग विषयहरूको संयोग हुनुद्वारा हुँदैन । यस जगतमा हुने पदार्थहरूको उत्पत्ति, स्थिति र विनाश देख्दा-देख्दै हाम्रो मानसपटलमा एउटा स्पष्ट प्रश्न उत्पन्न हुन्छ । यि सबै पदार्थ कहाँबाट उत्पन्न हुन्छन् र फेरि कहाँ विलिन हुन जान्छन् ? दृश्यमान हुने प्रत्येक पदार्थहरूको कुनै न कुनै कारणबाट उत्पन्न हुने स्वभाव देखेर, हामीमा यि असङ्ख्य पदार्थहरूको समष्टि स्वरुप, समस्त जगतकै कारण पत्ता लगाउने इच्छा उत्पन्न हुन्छ । यस कार्य र कारण विचको सम्बन्धको बारेमा जबसम्म कुनै पनि पदार्थको वास्वविक स्वरुपको जानकारी हुँदैन, तबसम्म मानवको वुद्धिले तिनीहरूको कार्य र कारण यथार्थ जानकारी प्राप्त भैसक्यो भनी हाम्रो मनले मान्दैन । समस्त जगतको सृष्टिको कारण पत्ता लगाउन नसकिएसम्म सम्पूर्ण जगतको जानकारी प्राप्त भयो भन्ने वोध हुँदैन । साथै सम्पूर्ण जगतलाई पूर्ण रुपले देखिसकियो भन्ने अनुभव हुँदैन ।
          हामीले आफूलाई र संसारलाई हेर्दाहेर्दा हाम्रो वुद्धिको उत्कर्षको साथसाथै जुन सम्पूर्ण गम्भीर समस्याको उत्पति हुन्छ । ती सम्पूर्ण समस्याको समाधान भएपछि मात्र दृश्य विषयहरूको यथार्थ परिचय प्राप्त हुन्छ । त्यसपछि मात्र यथार्थ देख्न सम्भव हुन्छ । यसरी देख्नु नै दर्शन शब्दको परिभाषिक अर्थ हुन्छ । अर्थात् यसैको नाम तत्वज्ञान (knowledge of truth) हो । यसप्रकार देख्नको लागि इन्द्रियहरूको सुनियत व्यवहार आवश्यक छ, त्यसैगरी मन र वुद्धिको युक्ति विचार पनि निकै बढी मात्रामा आवश्यक छ । प्रत्यक्ष विषयहरूमाथि विचार शक्तिको सुनियन्त्रित प्रयोग गर्दा, तिनीहरूको तत्वको दर्शन अथवा रहस्यको उदघाटन हुन्छ । अथवा सुनितिपूर्ण (good intention), न्यायसङ्गत विचारद्धारा समस्त पदार्थहरूको आत्मानात्मय, चेतनाचेतनमय समग्र बिश्वको मूल तत्वको अन्वेषण एवम् आविष्कार गर्नुको नाम नै ‘दर्शनशास्त्र’ (Philosophy) हो । मानवीय वुद्धिको पूर्ण सत्यलाई देख्ने स्पृहा (इच्छा), त्यसका लागि यथोचित उपायहरूको कल्पना र परिपूर्ण सत्यको आदर्शरुप, यि सबै कुराहरू दर्शनशास्त्रको रुपमा प्रकट हुन्छन् । यसैलाई तत्वज्ञान (knowlege of truth), तत्वमीमांस (Crtical investigation of truth) आदि नाम प्रदान गरिएको छ । यसप्रकार परिभाषिक अर्थमा ‘दर्शनशब्दको व्यभारको प्रयोग गरिएको कुरा कति पुरानो हो, भन्ने कुरा ठीक-ठीक भन्न गाह्रो छ । तैपनि एउटा कुरा सुनिश्चित नै छ, महाभारत काल भन्दा अघि देखिनै यस शब्दको व्यभारमा प्रयोग हुँदै आइरहेको छ ।
          हिन्दूहरूको प्राचीनतम ग्रन्थ ऋग्वेद (RigVeda) हो । समस्त मानव जातिमा समेत त्यसको समकालीन (parallel) अथवा केही पछिका पनि अन्य कुनै ग्रन्थ छैन । ऋग्वेद कहिलेदेखि थियो भन्ने कुराको समेत कुनै प्रमाण पाइँदैन । ऋग्वेदमा एउटा कुराको निर्विवाद प्रमाण विद्ममान छ कि त्यस प्रागैतिहासिक युग (prehistoric era) मा पनि पूर्वीय विद्वानहरूले चरमतत्वका सम्बन्धमा केवल अनुसन्धान मात्रै गर्दैनथे, अपितू सुनिपूर्ण विचारसिद्ध निश्चय (Determination with the good intention and power of thought) समेत गर्दथे ।
          यस दार्शनिक अनुसन्धानको विकासक्रमको फलस्वरुप वेदको अन्तरमार्ग उपनिषत (वेदान्त) मा मनुष्यका ज्ञातब्य (Knowlabe), कर्तव्य (Duty), प्राप्तव्य (Achievable) तथा भोक्तव्य (useable) विषयहरू सम्बन्धी चरम समस्याका समाधान पाइन्छन् । यस्ता समाधानको विषयमा पूर्वीय विद्धानहरूको परवर्ती युग-युगान्तर व्यापिनी ( melenium to melenium) विचार साधना तथा तत्व समालोचनाले समेत कहिले पनि भूलहरू देखाउन समर्थ हुन सकेका छैनन् । बरु उनीहरू नतमस्तक भएर त्यसलाई स्वीकार गर्न बाध्य भएको देखिन्छ । कालक्रमले वेदोपनिषतका सिद्धान्तहरूले आप्तवाक्य (trustworthy), इश्वरवाक्य (God voice) वा अपौरूषेय (not by human imagination) स्वतः सिद्ध प्रमाणका रुपमा गृहित (स्वीकृत) भएका छन् । यसरी चरम तत्व (व्रह्म) का सम्बन्धमा प्रत्यक्षानुमानादि (Direct evidence ) सर्वविध प्रमाणहरू भन्दा माथिको स्थान प्राप्त गरेका छन् । विचार, वुद्धि आदि विभिन्न दृष्टिकोणद्धारा विभिन्न प्रणाली अवलम्वन गरेर अनेकौं प्रकारका तर्कयुक्तिहरू (logical arguments) को सहायताले विभिन्न वादप्रतिवादको माध्यमद्धारा जति परम सत्यतिर (Absolute truth) ज्ञानको चरम सार्थकता (Final Achievments) तिर अग्रसर हुन्छ । र, त्यति नै बढी मात्रमा वेदोषनिषतका ऋषिहरूद्धारा आविष्कृत (discovered) तत्व समूहलाई  मान्यता (समर्थित) हुने गर्दछन् ।
          पूर्वीय समाजमा जुन दार्शनिक मतवादले (Philosophical Idology) प्रधानता (importance) र प्रसार प्राप्त गर्न सक्षम भए । तिनीहरूले सम्प्रदाय गठनद्धारा आचार्य-शिष्य (Guru-disciple) परम्पराले प्रचलित भएर आत्मरक्षा र आत्मपुष्टि गर्न पनि सक्षम भए । यस्ता दार्शनिक मतवादहरू निम्न अनुसार रहेका छन् ।
१. साङ्ख्य २. योग ३. न्याय ४. वैशेषिक ५. कर्ममीमांसा (पूर्वीमांसा) ६. व्रम्ममीमांसा (उत्तरमीमांसा) अथवा वेदान्त ।
          माथि उल्लेखित सबै मतवादहरू छ वटा दर्शनको नामले प्रसिद्ध भए । यिनीहरूमध्ये प्रत्येकको भाष्य, टिका, वृत्ति, व्याख्या, निबन्ध आदि माध्यमद्धारा विरोधी मतको खण्डन तथा आत्ममतको समर्थनमा प्रयोग हुनाले यी सबै ६ वटै दर्शनहरू निकै परिपूर्ण र परिपूष्ट हुँदै गएको पाइन्छ । यि ६ वटा दर्शनमध्ये हिन्दू समाजको विचारधारा, भावधारा र कर्मधारामाथि ‘वेदान्त दर्शन’को प्रभाव सबै भन्दा बढि परयो । हिन्दू समाजमा जति धर्म, सम्प्रदाय गठित भए, प्रायः सबैले वेदान्त दर्शनका विभिन्न व्याख्याहरू गरेका छन् ।  यसैकारण यि व्याख्याहरूद्धारा वेदान्त दर्शन अनेक शाखाहरूमा विभक्त भएको पनि छ । हिन्दु समाजमा दार्शनिक अन्वेषण (Philosopical Research) को समेत प्रसार भएको छ । वेदान्त दर्शनलाई आधार नबनाईकन पनि अनेक धर्म सम्प्रदायहरू गठित भएका छन् । तीनका अन्तरवस्तुमा पनि दार्शनिक मत छन्, तर वेदान्तानुगत नहुनाले तिनीहरू समाजमा उपधर्म मानिएका छन् ।
          दार्शनिक तत्वालोचना (Critisism of facts) गर्नका लागि प्रथम: कतिपय प्रमाणहरूलाई स्वीकार गर्नुपर्दछ । सत्य-मिथ्या छुट्टयाउने कसिस्वरुप कतिपय सार्वजनिक नियमहरूलाई समेत मान्न आवश्यक हुन्छ । जसद्धारा प्रमा अथवा स्पष्ट ज्ञान उत्पन्न हुन्छ । सत्यको यथार्थ परिचय प्राप्त हुन्छ । त्यसको नाम हो प्रमाण । प्रमाणमा पहिलो हो प्रत्यक्ष अर्थात् इन्द्रियहरूसँग विषयहरूको सन्निकर्ष (interaction) द्धारा उत्पन्न हुने ज्ञान । यो सर्वादिसम्मत (all accepted ideology) छ । र, अन्य धेरैजसो प्रमाणहरू प्रत्यक्षमाथि निर्भर छन् । दोस्रो प्रमाण हो अनुमान । पूर्वप्राप्त कुनै ज्ञानमाथि निर्भर रहेर जब कुनै नयाँ तत्वको परिचय प्राप्त हुन्छ । तब त्यो अनुमान भनिन्छ । पूर्वप्राप्त कुनै ज्ञानमाथि निर्भर रहेर जब कुनै नयाँ तत्वको परिचय प्राप्त हुन्छ, तब त्यो अनुमान भनिन्छ । प्रत्यक्ष तथा अनुमान दुवैमा भ्रान्ति (Illusion) हुन सक्तछ । भ्रम, प्रमाद, करण-पाटव, विप्रलिप्सा आदिले गर्दा प्रत्यक्ष लक्ष्य ज्ञान पनि दुषित हुन सक्तछ । अनुमान जनित ज्ञान पनि मिथ्या (false) हुन सक्तछ । तैपनि ज्ञानका लागि हामीले प्रत्यक्ष तथा अनुमान माथि नै निर्भर रहन पर्दछ । अनेक दार्शनिक सम्प्रदाय प्रत्यक्ष बाहेक सबै प्रकारका ज्ञानलाई अनुमान कै अन्तर्गत मान्दछन् । कुनै कुनै दार्शनिक समुदाय अनुमानलाई सङ्कीर्ण अर्थमा व्यवहार गरेर उपमान (comparision), अर्थापत्ति (inference from circumstances), अनुपलव्धी (perception), ऐतिहासिक (tradition) आदिलाई समेत अलग प्रमाणका रुपमा ग्रहण गर्दछन् । तर प्रत्येक प्रमाणको परीक्षा गर्नै पर्दछ । किनकि भ्रान्ति (Illusion) को सम्भावना सर्वत्र रहन्छ ।
          सबै हिन्दू दार्शनिकहरूको एउटा विशिष्ट गुण पनि छ । तिनीहरू वेदलाई एउटा स्वतन्त्र प्रमाणका रुपमा ग्रहण गर्दछन् । वेदलाई अतिन्द्रिय तत्व (मानव इन्द्रीय भन्दा बाहिर) सम्बन्धमा इन्द्रीय प्रत्येक्ष र तद्पजीवी (विषयगतज्ञान) अनुमान आदिको अपेक्षालाई कोष्ठतर प्रमाण मान्दछन् । हिन्दू दार्शनिकहरूको विश्वास छ-वेदका तात्पर्य-समूह वा प्रतिपाद्य (आविष्कार) तत्वसमूह तथा विधि-निषेध समूह ऋषिहरूका प्रत्यक्षीकृत (realized) सत्य हुन् । वेद शब्दबाट उनीहरू ग्रन्थसमष्टिलाई होइन, अपितू तिनमा निहित सत्य समूहलाई नै बुझ्दथे । यि सबै सत्य सनातन (सुरुवात र अन्त्य नभएको) हुन् । यिनै सनातन सत्यहरूमाथि प्रतिष्ठित हुनाले ‘हिन्दू धर्म’ सनातन धर्मका नामले प्रसिद्ध छ । दार्शनिक सम्प्रदायका मीमांसकहरूको भनाई छ – ‘यि सत्यहरूको प्रसार विश्व प्रवाहकै समान नित्य छ’ । यि सम्पूर्ण सनातन नीतिहरू आचार्य-शिष्य परम्पराक्रमले सुरुदेखि नै मानव समाजमा चल्दै आइरहेको छ । ‘वेद अपौरुषेय एवं नित्य छन्’ । न्याय तथा वैशेषिक वेदलाई स्वयं ईश्वरका वाणी मान्दछन् । उनीहरूको मनमा वेद पौरुषेय छन्, तर हामी जस्ता कुनै व्यक्तिविशेषद्धारा रचित होइनन् । अपितु स्वयम् इश्वरको नित्य ज्ञान भण्डारबाट प्रवाहित छन् । धेरैजसो विद्वान भन्दछन्, वेद ईश्वरद्धारा सृष्टि गरिएका वा रचित होइनन् । तर ईश्वरज्ञानमा नित्य प्रकाशित छन् । ईश्वर वेदका कर्ता होइनन् । उनी वेदका ज्ञाता मात्र हुन् । कुनै पनि हिन्दू दार्शनिकहरू आफूले चाहेको जुनसुकै प्रकारको युक्ति (logic) द्धारा वेदका प्रमान्यको प्रतिपादन किन नगरुन्, वेदको प्रमान्यलाई स्वीकार गर्ने सम्बन्धमा सबै दार्शनिकहरू एकमत छन् । साथै जुन-जुन दर्शन वेदलाई प्रमान्यलाई स्वीकार गर्दैनन् ति सबै हिन्दू समाजमा नास्तीक दर्शन मानिएका छन् ।
          ब्रम्हसूत्रादि दार्शनिक ग्रन्थहरूमा अनेक ठाउँहरू श्रूति, दर्शन प्रत्यक्ष आदि नामले वैदिक वाक्यहरूको उल्लेख गरिएको छ । वेदको अन्तिम भागको नाम हो, ‘उपनिषत। यिनै उपनिषतहरू नै वेदका चरम तात्पर्य समूह अन्तिम सिद्धान्त समूह गम्भीरतम् तत्वसमूह निहित छन् । गुरु शिष्य परम्पराद्धारा उपदिष्ट भएका छन् । त्यसैले उपनिषतहरू वेदान्तको नामले प्रसिद्ध छन् । हिन्दू दार्शनिकहरूमा उपनिषतका वाक्यहरू अ‍ष्ठतम् प्रमाणका रुपमा मानिन्छन् । त्यसपछि वेदान्तको अनुशरण गर्ने स्मृतिलाई पनि उनीहरू प्रमाण मान्दछन् स्मृतिमध्ये श्रीमद् भागवतगीताको स्थान सर्वोच्च छ । भागवत् गीताको विषयमा यस्तो साधारण विश्वास छ कि भागवत् गीता स्वयम् भगवानको वाणी हो । यसको अतिरिक्त हिन्दू दार्शनिक सम्प्रदायमा आगम-समूह पनि प्रमाण मानिन्छ । साथै हिन्दू दार्शनिकहरूको विचार क्षेत्रमा योगीहरूको प्रत्यक्ष, महापुरुषहरूको समाधिलब्ध प्रज्ञा तथा उन्नत साधकहरूको अलौकिक अनुभूति पनि वहुधा (ज्यादै ठूलो) प्रमाणरुपमा उपस्थित गरिन्छन् ।
          वेदोपनिंषतहरूमा प्रतिपादित तत्वसमूह नै वस्तुतः समस्त हिन्दू दार्शनिक विचारको मूल हो । ऋगवेदमा उल्लेखित केही ऋषिहरूले विश्व जगतका आदिकारण र तात्विक स्वरुपको अनुसन्धान गर्नमा प्रवृत्त भएर सुक्ष्म कारण (particle cause) द्धारा स्थुलकार्यको (Gross) उद्भव, अब्यक्त कारणहरू (hidden causes) द्धारा व्यक्त कार्यको अभिव्यक्ति तथा कारण (cause) भित्र कार्य (action) तात्विक रुपमा (in reality) दर्शन गरेका थिए । यस कुराको वर्णन वेदको नासवीय सुक्तमा गरिएको छ । नासदिय सुक्तको विचार प्रणालीको अनुशरण गरेर उनीहरूले विश्वको आरम्भमा एक अब्यक्त स्वप्रकाश परमतत्वको सन्धान प्राप्त गरेका थिए । सृष्टिपूर्व त्यही तत्व आफूलाई अभिब्यक्त गर्ने शक्तिलाई आफ्नो स्वरुपमा अभिन्न वा अविभक्त (undivided) भावमा राखेर प्रकाश प्रवृति-क्रियाविहिन सर्वविध-भेदवर्जित एक अवस्थामा विराजमान थियो । उसको मनमा काम अथवा सि-सृस्ना जागृत भयो, उसको शक्तिको उदवोधन (विष्फोटन) भयो । उसले आफूले आफैलाई अनेकौं विभक्त नाम रुपहरूमा अभिव्यक्ति गरयो । यस प्रकारका परिकल्पना गरेर पनि सृष्टि रहस्यको विषयमा ऋषिहरूको चित्तमा यति प्रश्नहरू उत्पन्न भए कि तिनको सम्यक सन्तोषजनक उत्तर नपाएर तिनीहरू नै सोच्न लागे । जसले यस जगतको सृष्टि गरेका हुन्, उनी पनि यस सम्बन्धी समस्याहरूको समाधान गर्न सक्छन् कि सक्दैनन् ? यसमा सन्देह नै छ ।
          जुन चरम तत्वद्धारा समस्त सृष्टि जगतको उत्पत्ति हुन्छ । जसको आश्रयमा सबैको स्थिति छ तथा अन्तमा जसको स्वरुपमा सबै विलिन हुन्छन् । त्यस चरम तत्वलाई उनीहरूले व्रह्म (Brahma) भन्ने नाम दिएका थिए । व्रह्म र आत्मालाई कहीं एउटै वृक्षस्थित दुई पक्षीयअथवा घाम र छायाँको समान परस्पर सम्वद्ध तथापि पृथक रुपमा घोषित गरिएको छ । कतै ‘अयमात्मा व्रह्मा’ अर्थात् यो आत्मा नै व्रह्मा हो, ‘अहं व्रह्मअस्मि’ (म नै व्रह्म हुँ) आदि वाक्यहरूद्धारा दुवै एउटै भएको उल्लेख गरिएको छ । साथै आत्मैवाधस्तात आत्मैवोपरिष्टात, अहमेवाअधस्तात, अहमुपरिष्टात वाक्यहरूमा अहम् अथवा आत्मालाई नै सर्वसम्मत तथा अद्वैतत्वको घोषणा गरिएको छ ।
          यसप्रकार हामीले देख्दछौं-हिन्दू दर्शन नै एक मात्र यस्तो सार्वभौम दर्शन हो, जसको सबै दर्शनहरू नतमस्तक भएर प्रशंसा गर्दै यसमा लिन हुन लालायित छन् । दिन्दू दर्शनको मूल स्रोत उपनिषत् तथा व्रह्मसुत्र हुन् । चरमतत्व-व्रह्म (Universe) उपनिषत् तथा व्रह्मसूत्रका सिद्धान्त यति गुँद (गहिरो) तथा सार्वभौम छन् कि तिनको प्रभाव कुनै पनि देशका तथा कुनै पनि धर्मावलम्वी विद्धानहरूमाथि गहिरो प्रभाव पार्न सक्षम छन् । कुनै अन्य धर्मग्रन्थलाई यसरी अन्य धर्मालम्वीहरूबाट हार्दिक एवम् प्राकृतिक आदर प्राप्त भएको छैन । हामीले यो कुरालाई सदैव हाम्रो मानसपटल राख्नु पर्दछ । उपनिषत् र व्रह्मसूत्र हिन्दू दर्शन तथा हिन्दू धर्मका सर्वश्रेष्ठ धार्मिक ग्रन्थ हुन् । यि ग्रन्थहरूले वैष्णव, शैव तथा शक्ति आदि कुनै पनि सम्प्रदायमा विश्वास गर्ने हिन्दूहरूले उपनिषत्, व्रह्मसूत्र र श्रीमदभागवद् गीतालाई सबै भन्दा वढी प्रामाणिक ग्रन्थका रुपमा स्वीकार गर्दछन् । यिनै तीनवटालाई प्रस्थानत्रयी भन्दछन् । हिन्दू धर्मको कुनै पनि सम्प्रदायमाथि उल्लेखित ग्रन्थहरूबाट प्रमाणित भएपछि मात्र ग्रन्थ तथा वैदिक मानिन सक्दछन् । किनकि प्रत्येक हिन्दूहरूको धार्मिक विश्वासको आधार वेद छन् । ति अपौरुषेय छन् । अर्थात् तिनीहरूमा भ्रम एवम् प्रमादको अलिकति पनि सम्भावना मान्न सकिन्न । उपनिषत वेदको सारभाग हुन् । श्रीमद् भागवद् गीता उपनिषतको सार हो तथा व्रह्मसूत्र उपनिषतहरूको एक सूत्रका लागि हो । वेदका संहिता एवम् व्राह्मण भागहरूमा धेरैजसो सानातिना देवताहरूको तथा ज्यादै कम स्थानमा परव्रह्माहरूको उल्लेख गरिएको छ । उपनिषतहरूमा परव्रह्मा साक्षात्कार पश्चात जिवात्माको स्वरुप व्रह्म साक्षात्कारका उपाय तथा व्रह्मसाक्षात्कार पश्चात जिवात्माको स्थिति आदिको वर्णनले भरिएका छन् । विदेशी विद्वानहरू उपनिषतहरूमा धेरैजसो यस्ता प्रश्नहरूको समाधान आएर आश्चर्य चकित भएका छन् । माथि उल्लेखित प्रश्नहरूको उत्तर अन्य धर्म तथा दर्शनहरूमा या त प्राप्त थिएन या प्राप्त भए तापनि ज्यादै असन्तोषजनक रुपमा प्राप्त थियो । उदाहरणको लागि व्रह्मा अथवा ईश्वरको स्वरुप के हो ? जीवात्मा कुनै तत्वबाट बनेको छ ? संसारको रचना कुन तत्वबाट भएको छ ? जीवको स्वर्गमा वा नरकमा स्थिति कति अवधिसम्म रहन्छ ? त्यसपछि जीव अवस्था के हुन्छ ? देहको रचना भन्दा अधिक पनि देहको अस्तित्व थियो ? केही व्यक्तिहरू जन्मदेखि नै सुखी र केही जन्मदेखि दुखी किन हुन्छन् ? वेदान्त दर्शनमा यिनीहरूको यति पूर्ण वैज्ञानिक तथा सन्तोषजनक उत्तर छन्, जसको प्रभाव प्रत्येक जिज्ञासुका मनमा नपरी रहन सक्दैन ।
          वेदान्-दर्शनको महिमामाथि मुग्ध हुने विदेशी विद्वानहरूमध्ये एशियाका विद्वान, दार्शनिक एवम् इतिहासकार अवु अल वेरुनी (Abu Al Beruni) पहिला व्यक्ति थिए । उनी एघारौं शताब्दीमा भारत आएका थिए । भारतमा आएर उनले संस्कृत भाषाको अध्ययन गरेका थिए । साथै उनले उपनिषतहरूको सारस्वरुप श्रीमद् भागवदगीताको गहिरो अध्ययन गरेका थिए । भागवत् गीताको सारतत्वबाट उनी ज्यादै प्रभावित भएर मुग्धकण्ड प्रशंसा गरेको पाइन्छ । त्यसैगरी जर्मनका प्रशिद्ध दार्शनिक म्याक्स मुलर (Max Muler) ले पनि पूर्वीय दर्शनको गहिरो अध्ययन गरेर यसको पश्चिममा प्रचार प्रसार गरेको पाइन्छ ।
          हिन्दू दर्शनले जगतभरिका समस्त जाति, समस्त मतहरू तथा सबै सम्प्रदायका दीन दुर्वल, दु:खी प्राणीहरूलाई बोलाई भनिरहेको छ- ‘सबै आफ्ना-आफ्ना खुट्टामा उभिएर मुक्त होऊ’। मुक्ति वा स्वाधिनता शारीरिक स्वाधिनता, मानसिक स्वाधिनता तथा आध्यात्मिक स्वाधिनता यही नै उपनिषतको मूलमन्त्र हो । विश्वभरमा यही एउटा शास्त्र छ, जो उद्धारको कुरा भन्दैनन्, मुक्तिका कुरा भन्दछ । यथार्थ बन्धनबाट मुक्त होऊ, भवपाशबाट मुक्ति पाउ । ‘जाग्रत प्राप्य वरान् निवोधित’ ।
यस लेखको मुख्य उद्धेश्य विदेशी विद्धानहरूको हिन्दू दर्शनको विषयमा के धारणा छ ? र, उनीहरू कसरी प्रभावित भएर यि ग्रन्थहरूसामु मन्त्रमुग्ध भई नतमस्तक हुन्छन् भन्ने कुरा उल्लेख गर्नु हो । यसबाट हाम्रो शिक्षित युवा समाजले पनि यो जान्न र बुझ्न सक्छन् कि हाम्रो धर्म तथा संस्कृतिको विषयमा पाश्चात्य जगतको कति आदरभाव छ । अनि हामी किन यि आफ्ना दर्शनहरूबाट परायमुख भएर अन्य धर्म तथा संस्कृतिको अन्धानुकरण गरिरहेका छौं । हामी किन आफ्नो धर्म र संस्कृतिमा आत्मगौरव गर्दैनौं ? आफूलाई हिन्दू भन्न, मान्न किन हिच्किचाउँछौं ? यो ज्यादै विचारणीय कुरा छ ।
          हिन्दू दर्शनमा तत्वज्ञान वा ज्ञानका परमसाध्य तत्वको स्वरुपको साक्षात्कार मात्र छैन, त्यहाँसम्म पुग्नका लागि विभिन्न रुचि, अधिकार अनुकूल विभिन्न साधनहरूको पनि वर्णन छ । साथै मनुष्यलाई माथि उठाउने त्यस सदाचारको समेत महत्वपूर्ण उल्लेख छ, जुन थाहा पाएर प्रत्येक मनुष्य आफूलाई माथि उठाउने प्रयत्न गर्न सक्तछ । दर्शनशास्त्र (Philosophy) हिन्दू धर्मको परम निधि हो । कुनै दिन यिनैको प्रकाशद्धारा विश्वमा यथार्थ सुख र शान्तिको प्रसार हुनेछ ।
          हाम्रो क्षेत्रमा दर्शन र धर्मको सदा घनिष्ठ सम्बन्ध रहेको छ । यहाँ धर्म र दर्शन (religion and philosphy) लाई एकअर्काको परिपूरक होइन, अपितू एउटै अङ्ग मानिएको छ । यसकारण हिन्दू दर्शनमा सर्वत्र यो विशेषता देखिन्छ । यो मानव जीवनको चरम लक्ष्य (final distination) तिर मात्र सङ्केत गरेर मौन हुँदैन, अपितू त्यस लक्ष्यसम्म पुग्ने मार्गको निर्देशन समेत गर्दछ । यही यसको पाश्चात्य दर्शन (western Philosphy) सँगको सबैभन्दा ठूलो भेद हो । पाश्चात्य दर्शन तर्कप्रधान हुनाले वुद्धिनिष्ठ छ । उसको दृष्टिकोण पनि वौद्धिक दृष्टिकोण छ । त्यसमा धर्म वा आचरणको लागि कुनै स्थान छैन । त्यसैले पाश्चात्य देशहरूमा दर्शन केवल शिक्षित वर्गको मानसिक विलासको सामाग्री राखेको छ । त्यसैमा सीमित पनि छ । त्यसको विपरित हिन्दू दर्शन आफ्नो व्यावहारिकताले गर्दा सबै वर्गका व्यक्तिहरूलाई आफूतिर आकृष्ट गरिरहेको छ । तिनका लागि जीवनमा समेत उपयोगीसिद्द भएको छ । संसार अनित्य छ, भवचक्र दु:खमय छ । आत्मा यिनीहरूद्वारा नछोइएको तत्व हो । केवल यति मात्रै बताएर हिन्दू दर्शन सन्तुष्ट हुँदैन, अपितू अनित्य दु:खमय यस संसारबाट मुक्त हुने आत्मज्ञान प्राप्तीका उपाय समेत बताउँछ । कुनै पनि साधक यदि चाहन्छ भने यस मार्गको अनुशरण गरेर त्यस दर्शनको निर्दिष्ट लक्ष्यसम्म पुग्न सकिन्छ ।
सन्दर्भ सामग्री :
१.   वेदान्त विज्ञान, श्री १०८ खप्तडबाबा
२.   Six System of Hinduism, Max Muler
३.   श्रीमद् भागवदगीता रामशुकदाशजी महाराज

कर्तव्य कर्म (Prescribed Duty)



मनुष्य जीवनमा दुईवटा कुराहरू हुन्छन् । पहिलो पुरानो कर्महरू फलभोग र नयाँ पुरुषार्थ (object of human pursuit )। मनुष्य बाहेक अन्य योनीहरूमा  खाली पुराना कर्महरूको फलभोग हुन्छ । अर्थात किरा फट्याङ्ग्रा पशुपंक्षी, देवता ब्रह्मलोकसम्मका योनीहरू भोग योनीहरू हुन् । यसकारण उनीहरूको लागि ‘यस्तो गर्नुपर्छ र यस्तो गर्नुहुँदैन’ भन्ने यस्तो विधान हुँदैन । पशुपंक्षी किरा फट्याङ्ग्रा आदि जे कर्म गर्दछन्, उनीहरूको त्यही कर्मको फलभोगमा हुन्छ । किनकि उनीहरूद्वारा गरिने कर्म, उनीहरूको प्रारब्ध (Fate) अनुसार पहिले नै रचिएको (programmed) हुन्छ । उनीहरूको जीवनमा अनुकूल-प्रतिफल परिस्थितिको जे जस्तो भोग (enjoyment) हुन्छ, त्यो भोग पनि फलभोगमा नै छ । तर मनुष्य शरीर त केवल नयाँ पुरुषार्थको लागि नै मिलेको छ, जसबाट मानिसले आफ्नो उद्धार गर्न सक्छन् ।
यस मनुष्य जीवनमा  दुई विभाग छन् । एउटामा यसको अगाडि पुराना कर्महरूको फलस्वरुप अनुकूल-प्रतिकूल परिस्थिति आउँदछ र दोस्रो नयाँ पुरुषार्थ (नयाँ कर्म) गर्दछन् । नयाँ कर्मको अनुसार उसको भविष्यको निर्माण हुन्छ । यसकारण शास्त्र, सन्त महापुरुषहरूको विधि निषेध, राज्य आदिको शासन केवल मनुष्यहरू लागि नै हुन्छ । किनकि मानिसहरूमा पुरुषार्थको प्रधानता हुन्छ । नयाँ काम गर्ने स्वतन्त्रता हुन्छ । तर पछिल्लो कर्महरूको फलस्वरुप पाएको अनुकूल तथा प्रतिकूल परिस्थितिलाई बदल्ने कुरामा मानिस परतन्त्र (dependent) हुन्छ । यसको तात्पर्य यो हो कि मानिस कर्म गर्नमा स्वतन्त्र (Free) हुन्छ तर फल (fruits)प्राप्तिमा परतन्त्र हुन्छ । तथापि अनुकूल प्रतिकूल रुपबाट प्राप्त परिस्थितिको सदुपयोग गरेर मनुष्य त्यसलाई आफ्नो उद्धारको साधन सामाग्री (tools) बनाउन सक्दछ । किनकि यो मनुष्य शरीर उद्धारको (libration/salvation) लागि नै प्राप्त भएको छ । यसकारण यसमा नयाँ पुरुषार्थ पनि उद्धारको लागि हो र पुरानो कर्मको फल फलरुपमा प्राप्त परिस्थिति पनि उद्धारको लागि नै हो ।
यसमा एक विशेष सम्झने कुरा छ कि यस मनुष्य जीवनमना प्रारब्धको (fate) अनुसार जो पनि शुभ या अशुभ परिस्थिति आउँछ । त्यस परिस्थितिलाई मनुष्य सुखदायी या दुःखदायी हुन सक्दछ । तर वास्तवमा भन्ने हो भने त्यस परिस्थितिबाट सुखी या दुःखी हुनु कर्महरूको फलको कारण होइन । बरु मानिसहरूको आफ्नो मुर्खताको ( foolishness) फल हो । किनकि परिस्थिति त बाहिरबाट (external) बन्छ र सुखी दुःखी त हुन्छ आफू स्वयम् (internal) । त्यस परिस्थितिको साथ तादाम्य(cooperation) गरेर नै मानिस सुख दुःखको भोक्ता (experiencer) बन्दछ । यदि मनुष्यले त्यस परिस्थितिको साथ तादाम्य गरेन र त्यसको सदुपयोग गर्‍यो  भने त्यही परिस्थिति उसको उद्धार गर्नको लागि साधन सामाग्री बन्न जान्छ । सुखदायी परिस्थितिको सदुपयोग भनेको अरुको सेवा गर्नु र दुःखदायी परिस्थिति सदुपयोग भनेको सुखभोगको इच्छा त्याग गर्नु हो । दुःखदायी परिस्थिति आउँदाखेरि मनुष्यले कहिले पनि घवराउनु हुँदैन । बरू यो विचार गर्नुपर्दछ कि हामीले पहिले सुखभोगको इच्छाबाट नै पाप गरेका थियौं र त्यही पाप दुःखदायी परिस्थितिको रूपमा आएर नष्ट भइरहेको छ । यसमा एउटा लाभ यो छ कि ती पापहरूको प्रायश्चित (atonement) भइरहेको छ र हामी शुद्ध भइरहेका छौं । दोस्रो लाभ यो छ कि हामीलाई यस कुराको चेतावनी मिलिरहेको छ कि अब हामीले यस सुखभोगको लागि फेरि पनि पाप गर्‍यो भने फेरि पनि यसप्रकारको दुःखदायी परिस्थिति आउँछ । यसकारण सुखभोगको इच्छाबाट अब कुनै पनि काम गर्नु छैन बरु प्राणीहरूको हितमा ( wellfare) मात्र काम गर्नु पर्दछ ।
तात्पर्य यो भयो कि पशुपंक्षी किरा फट्याङ्ग्रा आदि योनीहरूको लागि पुरानो कर्महरूको फल र नयाँ कर्म यी दुवै भोगरूपमा हुन्छन् । साथै मानिसहरूको लागि पुरानो कर्मको फल र नयाँ कर्म (पुरुषार्थ) यी दुवै उद्धारको साधन हो मा फलेषु कदाचन” (गीता २-४७) फलमा तिम्रो कत्ति पनि अधिकार छैन अर्थात फल प्राप्त गर्नमा तिम्रो स्वतन्त्र अधिकार  छैन । किनकि फलको विधान (arrangement) त मेरो(God) अधिनमा छ । अतः फलको इच्छा नराखेर तिमी कर्तव्य कर्म (prescribed duty) गर । यदि तिमीले फलको इच्छा राखेर कर्म गर्‍यो भने तिमी वाँधिने (binding) छौ । फले सक्तो निबध्यते” (गीता ५-१२) किनकि फलेच्छा अर्थात भोक्तत्वमाथि नै कृर्तृत्व टिकेको हुन्छ अर्थात भोक्तत्वबाट नै कृर्तृत्व आउँदछ । फलेच्छा (desire of fruit) सर्वथा मेटियो भने कृर्तृत्व (performer or author of anything) मेटिन्छ र कृर्तृत्व मेटिए पछि मानिसले कर्म गर्दा पनि बाँधिदैन । यसको भाव यो भयो कि वास्तवमा मानिस कृर्तृत्वमा त्यति फसेको हुँदैन जति फलेच्छा अर्थात भोक्तत्वमा फसेको हुन्छ ।
अन्त:करणमा भोक्ता र फलेक्षामा आसक्ति धेरै रहनाको कारण, मनुष्यले भगवानप्रतिको प्रेम प्राप्ति आदिमा कर्महरुलाई कारक मान्दछ । वास्तवमा भगवानप्राप्ति आदि कर्महरूमा निर्भर छैन । बरू भाव (sentiment) र वोधमाथि (knowledge) निर्भर छ । किनकि अप्राप्त पदार्थहरूको प्राप्ति र कर्महरूमा निर्भर छ । तर दिव्य प्राप्त तत्वको (supernatural reality) प्राप्ति कर्महरूमाथि निर्भर छैन । दोस्रो कुरो जति पनि कर्महरू हुन्छन् ती सबै प्राप्य (acquirable) पदार्थहरू र व्यक्तिहरूको संगठनबाट नै हुन्छ । पदार्थहरू र व्यक्तिहरूको संगठनबिना स्वयम् (self or Atma) कर्म गर्न नै सक्दैन ।अन्य योनीहरूको संगठनद्वारा गरिएको फल आफ्नि लागि चाहनु इमानदारी होइन । अत: कर्म फलको चाहना मनुष्यको लागि हितकर छैन ।
फलमा तिम्रो अधिकार छैन । यसबाट यो कुरा सिद्ध हुन्छ कि फलको साथ सम्बन्ध जोडनमा अथवा नजोडनमा मनुष्य स्वतन्त्र (free) छ, सवल (powerful) छ । यसमा पराधिन(dependent) र निर्बल छैन । पुरुषमा वहुवचन दिनुको तात्पर्य यो हो कि मानिस एउटा कर्म गर्दछ । त्यस कर्मको फल अनेकन् चाहन्छ । जस्तो म कुनै अमुक कर्म गरिरहेको छु भने, यसमा मलाई पुन्य भैहालोस्, संसारमा मेरो कीर्ति भइहालोस,मानिसहरू मलाई राम्रो सम्झिउन्, मेरो आदरसत्कार गरुन्, तथा मलाई धन सम्पती मिलोस आदि आदि ।
निष्काम कर्म दुई तरिकाबाट गर्न सकिन्छ :
१. कामना पैदा हुनाले अभाव हुन्छ । कामनाको पूर्ति हुनाले परतन्त्र र पूर्ति नहुनाले दुःख हुन्छ तथा काममा पूर्तिको सुख लिनाले नयाँ कामनाको उत्पति हुन्छ र सकाम भावपूर्वक नयाँ नयाँ कर्म गर्ने रुची बढ्दै जान्छ । यस्तो ठिकठिक सम्झनाले निष्कामता स्वत: आउँदछ ।
२. कर्महरू नित्य होइन । किनकि कर्महरूको आरम्भ र अन्त हुन्छ तथा कर्महरूको फल पनि संयोग र बियोग हुन्छ । तर स्वयम् नित्य छ । अनित्य कर्म र कर्मफलबाट नित्य स्वरूपलाई कुनै लाभ हुँदैन । यस्तो ठिक सम्झनाले निष्कामता आउँदछ । निष्काम भएपछि संसारको सम्बन्ध छुटिहाल्दछ र परमात्मात्वको प्राप्ति भइहाल्दछ ।
कर्महरूमा निष्काम हुनको लागि तेजिलो विवेक ( wisdom) पनि हुनुपर्दछ र सेवाभाव पनि हुनुपर्दछ । किनकि यी दुवै भएमा मात्र कर्मयोग ठिक आचरणमा आउँदछ । हैन भने कर्मत भई हाल्दछ । तर योगहुँदैन । यसको तात्पर्य यो हो कि आफ्नो सुख-आरामलाई त्याग गर्ने कुरामा त विवेकको प्रधानता हुनु पर्‍यो र अर्कालाई सुख-आराम पुर्‍याउने कुरामा सेवाभावको प्रधानता हुनुपर्दछ ।
मा कर्मफलहेतुर्भः” (गीता २-४७) तिमी कर्मफलको हेतु (  cause of ) पनि बन हुँदैन। यसको तात्पर्य यो हो कि शरीर इन्द्रियहरू, मन, वुद्धि आदि कर्म सामाग्रीहरूको साथ आफ्नो कत्ति पनि ममता राख्नु हुँदैन । किनकि ममता हुनाले मनुष्य कर्म-फलको हेतु बन्दछ । अगाडि (गीता ५-११) श्लोकमा पनि भगवानले शरीर मन, वुद्धि र इन्द्रियहरूको साथ केवलै’ (solely) पद दिएर भन्नुहुन्छ कि शरीर आदिको साथ कत्ति पनि ममता हुनुहुँदैन ।
शुभ क्रियाहरूमा फलको इच्छा नहुँदाखेरी पनि मद्वारा कसैको उपकार भयो, कसैको हित भयो, कसैलाई सुख पुग्योयस्तो भाव हुन जान्छ, भने  यो कर्मफलको हेतु बनाउनु हुन्छ । किनकि यस्तो भाव हुनाले शुभ कर्मको साथ र मन, वुद्धि, इन्द्रियहरू आदिको साथ सम्बन्ध भईहाल्दछ । जुन कुरा असको संगत हो । वास्तवमा अन्तःकरण, बहिःकरण र क्रियाहरूको साथ हाम्रो कुनै सम्बन्ध हुँदैन । यिनीहरूको सम्बन्ध समष्टि संसारको साथ हुन्छ । जस्तो  कुनै व्यक्तिद्वारा दोस्रो कुनै व्यक्तिको हित हुन्छ भने उसमा हामी आफ्नो सम्बन्ध मान्दैनौ, उसमा आफूलाई निमित्त पनि मान्दैनौ । यस्तै आफ्नो भनिने शरीर आदिबाट कसैको हित भई हाल्दछ, भन्ने त्यसमा आफूलाई निमित्त मान्नु हुँदैन । हेतु मान्दैनौ भने कर्म फलको हेतु पनि बन्दैनौ ।मा ते सङ्गोस्त्वकर्मणी” (गीता २-४७) कर्म नगर्नेमा पनि तेरो आसक्ति हुनु हुँदैन । किनकि कर्म नगर्नेमा आसक्ति हुनाले आलस्य, प्रमाद आदि हुन्छ । माथि उल्लेखित चारवटा कुराहरूमा पछिल्लो (१) र चौथो (४) चरणको कुरा एउटै हो । पहिलो चरणमा कर्म गर्नेमा अधिकार रहेका कुरा बताउनुभयो र चौथो (४) चरणमा कर्म नगर्ने कुरामा आशक्तिलाई निषेध गरिएको छ । दोस्रो चरणमा फल इच्छालाई निषेध गरिएको छ र तेस्रो चरणमा फलको हेतु (कारण) बन्नुबाट निषेध गरिएको छ ।
यसको तात्पर्य यो भयो कि अकर्मण्यतामा रुची हुनाले प्रमाद, आलस्य आदि तामसी वृत्तिको साथ तिम्रो सम्बन्ध हुन जान्छ  । कर्म एवं कर्मफलको साथ सम्बन्ध जोड्नाले तिम्रो राजसी वृत्तिसँग सम्बन्ध हुन जान्छ । प्रमाद, आलस्य, कर्म, कर्मफल आदिको सम्बन्ध नरहनाले जो विवेकजन्य सुख हुन्छ, प्रकाश मिल्दछ, ज्ञान मिल्दछ, त्यसको साथ सम्बन्ध जोड्नाले सात्विक वृत्तिको साथ सम्बन्ध हुन जान्छ । यिनीहरूको साथ सम्बन्ध हुनु भनेकै जन्म र मरणको कारण हो । अतः साधक कर्म, कर्मफल र यिनीहरूको त्यागको सुख-यिनीहरू कसैसँग पनि आफ्नो सम्बन्ध नजोड्नु यिनीहरूमा राग या आसक्ति नगर्नु । अतः कर्म गर्दा गर्दै यिनीहरूसँग सम्बन्ध नराख्नु नै कर्तव्य कर्म (कर्मयोग) हो ।
कर्म तीन प्रकारका हुन्छन् । १) विकर्म २) कर्म ३) अकर्म । विकर्म अर्थात गर्न नहुने कर्मको रूपमा बुझ्न पर्दछ । मानिस भएर जन्मिएपछि हामीले आफ्नो विवेकको प्रयोग गरेर कुनै पनि हालत अरु प्राणीहरूलाई कुनै पनि किसिमले दुःख दिने कार्य गर्न हुँदैन । जानेर होस अन्जानमा होस शारीरिक रूपमा होस मानसिक रूपबाट होस कुनै पनि प्राणीलाई दुःख दिने कार्य निन्दनीय एवं घोर पाप हो । यस्तो विकर्म हामीले जुनसुकै अवस्थामा गर्नुहुँदैन । र त्यसमा पनि आमजनमानसमा सेवा प्रदान गर्ने संस्थाहरूले त यस्तो कार्य कदापी गर्नु नै हुँदैन । कर्म साधारण रूपमा भन्नाले हरेक प्राणीले आफ्नो लागि गर्ने गर्दछ । विना कर्म कुनै पनि प्राणी संसारमा जीवित रहन सक्दैन । तर मानवजाति गर्ने कर्महरू अर्कालाई अहित नपुग्ने गरी गर्दा उपयुक्त हुन्छ । किनकि अरु प्राणी भन्दा मानिस जातिमा विवेकजस्तो शक्तिशाली हतियार भगवानबाट प्राप्त छ । यस विवेकको प्रयोग गरेर मानिसहरू कर्म गरिरहेका हुन्छन् । वास्तवमा बहुसङ्ख्य मानवजातिले जन्मदेखि मृत्युसम्म कर्ममा नै अल्झिएर आफ्नो तथाकथित सफलता एवं सन्तुष्टि लिने गर्दछन् । तर मानवजातिमा जन्म पाएपछि मानिस कर्म भन्दा पनि अकर्म गर्ने क्षमता राख्नु पर्दछ । अकर्म गर्नको लागि नै मानिसलाई विवेक दिएको हो अकर्म भनेको आफ्नो लागि अर्थात कुनै फलको आशा नगरेर फगत अरु प्राणीहरू हितको लागि गर्ने कर्मलाई अकर्म भनिन्छ । अर्थात वास्तवमा कर्मयोग भनेको नै अकर्म हो । यसबाट मानिसको लागि मुक्ति ढोका खुल्न जान्छ । त्यसैले आमजनताको सेवा कार्यरत कर्मचारीहरूले सकेमा अकर्म नसकिएमा इमान्दारीपूर्वक कर्म गर्नुपर्दछ । विकर्म (अर्का अहित हुने कर्म) भन्ने कहिले पनि कुनै पनि अवस्थामा गर्नुहुँदैन ।