Popular Posts

Wednesday, July 26, 2017

पृथ्वी नारायण शाहमा राष्ट्र निर्माणको चेतना थियो ! SUSHIL GAUTAM/ Finland

  एक दिन ग्यालेली ग्यालिलियो, आइज्याक न्युटन र अल्बर्ट आइन्स्टाइन उत्तरी युरोपको कुनै ठाउँ घुम्दै जाँदा एउटा कालो भेडा देखा परेछ । त्यसलाई देख्ने बितिक्कै ग्यालिलियोले भनेछन – ओहो युरोपको भेडा त कालो हुँदो रहेछ । यो सुनेर न्युटनले भनेछन – त्यसरी भन्न मिल्दैन, युरोपमा कालो भेडा पनि पाइँदो रहेछ भन्नुपर्छ । आइन्स्टाइनले दुवैको कुरा सच्याउँदै भनेछन – त्यसरी पनि मिल्दैन बरु युरोपको उत्तर भागमा आइपुग्दा एउटा भेडा थियो जसको हामी फर्केको भाग चै कालो थियो भन्नुपर्छ । प्लस टु पढ्दा बिज्ञान सम्बन्धी एउटा किताबमा लेखिएको कथाको अंश हो यो । ग्यालेलियोको समय देखि आइन्स्टाइनसम्म आईपुग्दा पश्चिमी देशहरूमा कसरी बिचारको बिकास भयो भनेर कथात्मक शैलीमा देखाईएको थियो ।डा. निर्मलमणि अधिकारीको शब्द सापट लिएर भन्दा आइन्स्टाइनको भनाईमा पनि सुधार गर्न सकिन्छ किनभने दुई चार वटा व्यंजन जोडेर बनाईएको शब्दले सधै एउटै अर्थ बोक्छ भन्ने कुनै ग्यारेन्टी छैन ।  जस्तै इण्डिया भन्नाले पाकिस्तानदेखि बंगलादेशसम्मको भूभागलाई चिनिन्थ्यो १९४७ अघि सम्म । आज कास्मिरदेखि कन्याकुमारीमा सिमित छ । सत्तरी बर्षमा पैतिस प्रतिशत खुम्चियो शब्द भौगोलिक रुपमा भन्दा । नेपाल भन्नाले काठमाडौँ खाल्डोलाई मात्र चिनिन्थ्यो एकीकरण अघि  । अहिले पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलियो । दुई सय पचास बर्षमा कैयौं गुणाले फैलियो । खुम्चिनु र फैलिनुमा मात्र सिमित रहेनछ शब्दको अर्थ । पहिले पहिले ‘साम्प्रदायिक’ इज्जत प्रतिष्ठाको बिषय रहेछ, अहिले ‘ साम्प्रदायिक ‘ छिछिको पात्र बन्नु हो ।
सन्तोष चिमरियाजी पृथ्बीनारायण शाहलाई ‘सामन्ती’  समयमा बनेका शक्तिशाली सामन्त राजा भनेर लेख लेखे ।  पृथ्बीनारायण शाहलाई प्रयोग गरिएको ‘सामन्ती’ शब्द प्रति मेरो पनि समर्थन छ । निश्चय नै उनि शक्तिशाली सामन्त राजा नै हुन् । उनैले भुरे टाकुरे राजा र भारदारको पगरी खोसे तर एउटा डाँडामा बालीनाली भित्राउने बेला अर्को डाँडाको राज्यले आएर लुटेर लाने अवस्थालाई भने रोके । राज्य कर त टाकुरे राजालाई बुझाए पनि बुझाउनु नै हो एकिकरणको सपना देखेका सामन्ती राजालाई बुझाए पनि बुझाउनु हो ।
तत्कालिन अवस्थामा सामन्त शब्दले पदलाई जनाईन्थ्यो । सामन्त, महासामन्त एउटा प्रतिष्ठित पदवी थियो । पृथ्बीनारायण शाहलाई आज पनि गर्वका साथ महासामन्त भन्न सकिन्थ्यो होला यदि उनी भन्दा झन्डै सय बर्षपछि जन्मिएका कार्ल मार्क्स भनेपछि भुतुक्कै हुनेहरूको संख्या नभईदिएको भए ।
उनी सामन्त नै हुन् तर तात्कालिन परिवेशमा उनको सामन्तपनको पनि तुलनात्मक बुझाई हुनुपर्छ । जे कुरा पनि पश्चिमी दृष्टिकोणबाटै हेर्ने परिपाटीले सामन्ती शब्द पनि भ्रष्ट भएको हुनसक्छ । जब उनी महासामन्त बन्ने महत्वाकांक्षा लिएर अन्य फरक भाषा, संस्कार, धार्मिक सम्प्रदाय र भेषभुषा भएको राज्यमा आक्रमण गर्दै थिए । त्यसको तीन सय बर्ष अघि अर्थात १४५२ मा पोर्चुगलका पोपले राजा निकोलसलाई गैर क्रिश्चियन देशलाई चर्चको मातहतमा ल्याउन आग्रह गरे । ‘ डक्ट्रिन अफ क्रिस्चियन डिस्कभरी ‘ को नामले चिनिने यस तथाकथित अन्तराष्ट्रिय कानुनले प्रभुले दिएको यस पृथ्बी क्रिश्चियनहरूको निम्ति हो – गैर क्रिश्चियनबाट मुक्त हुनुपर्छ भनेर ‘ डिस्कभरी ‘ शब्दको परिभाषा दिईयो । कुनै पनि चिज त्यो बेला सम्म  ‘ पत्ता लागेको ‘ मानिदैन जबसम्म त्यसलाई चर्चको मातहतमा ल्याईदैन अर्थात  ‘चर्च र क्रिस्चियनिटिको आधिकारिक स्वीकृति बिना ‘ डिस्कभरी’ शब्दले कुनै अर्थ राख्दैन .
यहि डक्ट्रिन अफ क्रिस्चियन डिस्कभरीलाई आधार बनाएर राति सुतिसकेका गैरक्रिस्चियनको आँगनमा झण्डा गाडेपछि त्यसले त्यो घर आँगन भोग चलन गर्न पाएन । कि त क्रिस्चियन बन्नुपर्यो कि ठाउँ छोडेर हिड्न पर्यो । हाम्रो स्कुलमा समेत पढाई हुन्छ – अमेरिका कोलम्बसले पत्ता लगाएको भनेर । हजारौ बर्ष देखि त्यस महादिप बसिरहेका गैर क्रिश्चियनहरूको दृष्टिकोण सुन्ने कुरै भएन किनभने डक्ट्रिन अफ क्रिस्चियन डिस्कभरीले गैर क्रिश्चियनहरू असभ्य हुन्छन, उनीहरूलाई प्रभुले दिएको पृथ्बीको भोग चलन गर्ने अधिकार छैन भनिएको छ । असभ्यहरूको दृष्टिकोण कसले सुनोस ? कोलम्बसले अमेरिका ‘पत्ता लगाएको’ भन्नु भनेको हामी आफैले आफैलाई असभ्य भन्नु हो, आफ्नै संस्कृति  र परम्पराप्रति घृणा गर्नु हो ।
पृथ्बीनारायण शाह जन्मिसकेका छैनन् । पुर्तुगाली भास्को डे गामाले इन्डिया पत्ता लगाए भने अझै पढाई हुँदैछ । इन्डिया भनेर आजको जस्तो काश्मिर देखि कन्याकुमारीसम्मको भूभागलाई भनिएको होइन – पुर्बिय दर्शनको मूल थलो हालको नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, तिब्बत यी सबैलाई भनिएको हो । यी सबैमा कि हिन्दु थिए, कि बौद्ध थिए, कि किरात थिए ,कि जैन थिए, कि बोन थिए, कि सिख थिए । तर समग्रमा यी असभ्य र जंगली थिए । किन भने यिनीहरू क्रिश्चियन थिएनन, ‘ डक्ट्रिन अफ क्रिस्चियन डिस्कभरी’ ले यहि भन्छ । भास्को डे गामा यस भूभागमा प्रवेश गरे ।
यहि सेरोफेरीमा पुर्तुगाली फ़र्डिनाड मगेल्लान फिलिपिन्स छिरे । गैर क्रिस्चियनको भूभाग क्रमश छिनिने क्रम शुरु भयो किनभने फिलिपिन्सका गुप्त बंश, पल्लव बंशले राज गरेका हिन्दु र बौद्धहरूलाई पृथ्बीको कुनै पनि भूभागमा भोगचलन गर्ने अधिकार दिने कुरै भएन । कि क्रिश्चियन बन्न पर्यो नत्र ठाउँ छोडेर भाग्नुपर्यो । एता पृथ्बी नारायण शाह जन्मिए । महासामन्त बन्ने महोत्वाकांक्षा लिएर आक्रमणमा उत्रिए । आफु ठकुरी, पराजित सेनाका मगरलाई सेनापति बनाए । पराजित राज्यकि जीवित देवी कुमारीलाई खुट्टामा ढोगेर आशिर्वाद लिए । पराजित राज्यलाई राजधानी बनाए । अरु त अरु पराजित राज्यको नामबाट बिस्तारित राज्यको नाम बन्न पुग्यो । यता यो भूभागमा चार जात छत्तिस बर्ण थियो, अहिले पनि छ र पछि पनि रहन्छ तर डाँडै पिच्छे राजा रहेनन् । हिन्दु, बौद्ध, जैन, किरात र बोन थिए अहिले पनि छन्, पछि पनि हुनेछन । उता ‘ डक्ट्रिन अफ क्रिस्चियन डिस्कभरी’  बोकेर आएकाहरूले दश देखि पचास प्रतिशत सम्म कर लगाए सिमाना जोडिएको बङ्गालमा । भकारीमा धान संकलन गरेर राख्न मनाही गरियो । खाद्यान्नको सट्टा अफिम लगाउन बाध्य पारियो । खडेरी लाग्यो । सालाखाला एक करोड मान्छे मरे । खान नपाएर  ।
अलि पर हिन्दु र बौद्धहरूको उर्वर थलो फिलिपिन्स झन् थिलोथिलो हुदै गयो । अहिले आएर तथ्यांक हेर्छु गरिबी दर नेपाल जत्तिकै २५.२ % नै छ तर रोमन क्याथोलिक ८२.९%, इभान्जेलिक २.८%, इग्लेसिया नि क्रिस्टो (क्रिस्चियानिटीको प्रकार) २.३% अन्य क्रिस्चियन ४.५% जम्मा गरेर ९२.५% क्रिस्चियन  भएछन । खै कहाँ गए त्यहाँका हिन्दुहरू ? कहाँ गए त्यहाँका बौद्धहरू ? कहाँ गए स्थानिय संस्कृति परम्परा ?
एता पृथ्बीनारायण शाह बिते । हिन्दुहरूको बिस्केट जात्रा यथावत चलिरह्यो । बौद्धहरूको सम्यक महादान झन् हर्षोल्लासपुर्ण हुदै गए । बुढा सुब्बा मन्दिर तिर्थ स्थल नै बन्यो । समय बित्यो । उता डक्ट्रिन अफ क्रिस्चियन डिस्कभरी बोकेर हालको अमेरिका छिरेकाहरूले गैरक्रिश्चियनलाई भोग चलन गर्न नपाउने कानुनको हवाला दिएर राष्ट्रपति एण्ड्रेउ ज्याक्सनले ‘ इन्डियन रिमुवल एक्ट ‘ जारी गरे । त्यहाँ हजारौं बर्षदेखि बसिआएका गैर इसाईहरूलाई मिसिसिप्पी नदी पारी खेदियो ।  हिंडेर दुई हजार माइल पार गर्ने क्रममा कैयौं मरे । महिलाहरूलाई बच्चा पाउन नमिल्ने ‘बाँझो’ बनाईयो । हालको अमेरिकामा मात्र बिस लाख देखि एक करोड असि लाख मारिए । ‘ अमेरिकन होलोकोस्ट ‘ भनेर यकिन तथ्यांक खोज्ने क्रममा गुगलमा फरक फरक तथ्यांकका लिस्ट आए । औसतमा पाँच करोड त्यहाँका आदिवासी मारिएको भनेर डेभिड इ स्टान्नर्डको किताब ‘ अमेरिकन होलोकोस्ट ‘ को पुस्तक समिक्षामा बताईएको छ । त्यो बिघ्न आदिवासी मारिएपछि आजको तथ्यांक हेर्दा प्रोटेस्टेण्ट ४६.५%, रोमन क्याथोलिक २०.८ % जेहोभाको साक्षी (क्रिस्चियन को प्रकार) ०.८% अन्य क्रिस्चियन ०.९% गरि जम्मा ७०.६ % क्रिस्चियन २२.८ % नास्तिक बाँकी रहेछन । खै त्यहाँ आदिवासीको धर्म संस्कृति परम्परा ? ठुलो जातिमा गोरा, काला र पछि एसियाबाट गएका छन् । खै त्यहाँका नेटिभ अमेरिकन ? अंग्रेजी बोल्ने ७९.२ % , स्पेनिश बोल्ने १२.९ % , भारोपेली बोल्ने ३.९ % सैयौं किसिमका आदिवासीहरूको भाषा बोल्ने अब ३.३% मा सिमित रहेछ ।
यी सामन्ती युगमा भएका घटनाहरू हुन । दुई सामन्तहरूको भिडन्त सुगौली सन्धिमा गएर रोकिएको थियो ।  उताका सामन्तले इसाई बाहेकलाई पृथ्बीको भोग चलन गर्न दिनबाट रोक्न हिंडेका थिए, यताका ‘महासामन्त’ त्यसो गर्नबाट रोकेका थिए । तिनीहरू छिरेका फिलिपिन्समा गरिबी नेपालकै बराबर छ तर हिन्दु र बौद्ध सकिए – इसाई बढेर ९२% पुर्याईयो । जब मिसिनरीहरू अफ्रिका आए तिनीहरूसंग बाइबल थियो हाम्रो हातमा जमिन । प्राथना गर्न आँखा चिम्ल्याए । आँखा खोलि हेर्दा हाम्रो हातमा बाइबल थियो तिनीहरूको हातमा जमिन । डेस्मण्ड तुतुको यो भनाई, अफ्रिकाको अहिलेको गरिबी, भोकमरी, द्वन्द, अमेरिकी आदिवासी दोहोलो र फिलिपिन्सको धर्मान्तरणको तथ्यांकलाई राखेर हेर्दा सहजै बुझिन्छ, डक्ट्रिन अफ क्रिस्टियन डिस्कभरी बोकेकाहरू मिसिनारीहरूलाई पृथ्बीनारायण शाहले किन लखेटे तर पराजित राज्यकि कुमारीलाई किन ढोगे ?
रह्यो कुरा किर्तिपुरमा सत्र धार्नी नाक कान काटेर फालेको बिषय । सिद्धिएर चार-पाँच हजारको संख्यामा बाँकी रहेका लडाकुको संख्या ठाउँको ठाउँ बाइस हजार पुर्याउन सक्ने व्यक्ति प्रधानमन्त्रीको कुर्सिमा बसेको बेला, उनलाई बुई गरेका मिसिनारीले निरछीर बिबेकी भएर सत्र धार्नी नाक कान जोखे भनेर पत्याउनु र अमेरिका कोलम्बसले पत्ता लगाएको भनेर पत्याउनु एउटै कुरा हो ।
नाक र कान काटिएको समय उत्तरी युरोपमा भेडाको एक पट्टिको भाग कालो देखिदा पुरै युरोपको भेडा कालो हुन्छ भनेर बुझिने बेला थियो । दुई चार जना भरियाको नाक नदेखेकोले पुरै कीर्तिपुरेको नाक काटिएको थियो भनेर लेखे पादरीहरूले । अहिलेको समय उत्तरी युरोपमा हामीले देखेको भेडाको हामी पट्टि फर्केको भाग कालो थियो भन्ने बेला हो । तत्कालिन अवस्थामा ठकुरी महासामन्त नजन्मिएको भए कि मल्ल, कि मगर, कि गुरुङ, कि लिम्बु महासामन्त जन्मिनै पर्थ्यो अन्यथा प्रभु नमान्नेलाई पृथ्बीको भोग चलन गर्ने अधिकार छैन भन्दै हिन्दु, बौद्ध, जैन, किरात, बोनलाई निमिट्यान्न पारेर फिलिपिन्सको अवस्था हुदैनथियो भन्न सकिदैन । बचेखुचेकाहरू कि मेरा भारत महान भन्दै हुन्थे कि नभए तामांग बोर्डलाई बर्षको पचास लाख दिने हामी गुरुङ बोर्डलाई किन नदिने भनेर लड्दै हुन्थे – अहिले दार्जिलिङ्गमा जस्तै ।
शब्द आफैले अर्थ बोक्दैन । पृथ्बीनारायाण शाहको पालामा जसरी सामन्त, महासामन्त भनेर इज्जत गरिन्थ्यो – त्यहि सामन्तलाई फेरी दोहोर्याउनु आवश्यक छ । मार्क्सवादी फरिया ओडेर ‘सामन्त’ भन्दै किन सत्तोसराप गर्नुपर्यो ? हाम्रो सन्तान दरसन्तानलाई सिकाउनुपर्छ – ” बाबु पृथ्बीनारायण शाह महासामन्त थिए । महासामन्त भनेको प्रभु नमान्नेलाई पृथ्बीको भोग चलन गर्ने अधिकार छैन भन्दै आएका मिसिनरीलाई लखेट्ने, सिंजा प्रान्तको भाषा गोर्खा मार्फत फैलाउने, पराजित राज्यको नामबाट बिस्तारित राज्य बनाउने, पराजित राज्यलाई राजधानी बनाउने अनि पराजित राज्य बैदिक सभ्यताको उत्तराधिकारी हो भन्दै शाक्यको छोरी खुट्टामा ढोग्ने दुरदर्शीलाई महासामन्त भनिन्छ । तिमी पनि भबिष्यमा त्यस्तै महासामन्त बन्नु ल ।